काठमाडौं, १८ असार । धनुषा जिल्ला अदालतले पूर्वराज्यमन्त्री संजय साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
जनकपुर बम काण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई सञ्चार उद्यमी हत्याकाण्डमा समेत मूख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो। पूर्व मन्त्री साह काठमाडौंको नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन्।
रेडियो जनकपुर तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो। धनुषा जिल्ला अदालतका मूख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सञ्चार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो।
यस्तै सिंहानिया हत्या आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० वर्षको कैद सुनाइएको छ भने रामविनोद यादवलाई ३ वर्ष कैदको फैसला गरेको छ। यस्तै ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरेको छ।
यसअघि पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते पूर्वमन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो।



लाेकपाटी न्यूज

