प्रकाश ३६ वर्षमै पूर्ण जीवन बाँचेजस्तो लाग्छ : प्रचण्ड

prachanda-Prakash
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहालले पूर्ण जीवन बाँचेर मृत्युवरण गरेको बताएका छन्। प्रकाश दाहाल फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रकाश दाहाल ३८ औं जन्मजयन्ती एवं सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘राजनीति, परिवार, प्रेम, विवाह, विदेश भ्रमण सबैको अनुभव लिए । सफलता, असफलता, तितामिठा सबै अनुभव छोटो समयमै बोध गरे’ अध्यक्ष प्रचण्डले छोरा प्रकाशको जीवन सम्झिँदै भने, ‘म प्रधानमन्त्री हुँदा मलाई सघाएर मेरो कार्यकाल सफल बनाउने काम गरे। सबैभन्दा कठिन काम सगरमाथाको आरोहण पनि गरे। सबैलाई प्रेरणा दिए। निरन्तर देश र जनताको पक्षमा काम गरिराख्ने प्रेरणा प्राप्त भएको छ।’

बाल्यकालदेखि नै प्रकाशको पढाई प्रभावित भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मेरो भूमिगत जीवनसँगै कहिले कता कहिले कता भए। युद्धमा लिडरसीपको सुरक्षामा चिन्तित हुन्थे। लडाइँमा प्रत्यक्ष संलग्न रहन्थे। छोटो उमेरमै जीवनका विविध अनुभव बोकेर गए प्रकाश। ३६ वर्षको अल्पायुमै निधन भयो प्रकाशको। यसले परिवार, पार्टी र सिंगो देशलाई नै स्तब्ध बनायो।’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रकाश दाहाल साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँच जनालाई सम्मानित गरे। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक अम होङ गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन्।

प्रतिष्ठानकी अध्यक्ष बीना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत लगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्