चितवन, १७ असार । चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका ४ स्थित भवानीपुरमा ना४ख २२९५ नं को टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमूख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए।
बरामद गाँजा, टिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको आचार्यले बताए। इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ। २०७६ वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४०० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।
आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमानामा पर्ने विकट बस्तीमा लुकीछिपी गाँजाखेती तथा तस्करी बढी हुन्छन्। विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ। प्रहरीले गाँजा फडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ।



रासस न्यूज

