जनयुद्धको किल्ला थवाङको सरकारी विद्यालय जिल्लामै नमूना

Thawang school
लाेकपाटी न्यूज

केबी गुरुङ/असार १५, रोल्पा। रोल्पाको उत्तरी भागमा रहेको जलजला पहाडको काखमा अबस्थित छ ‘थबाङ’। साबिकको सदरमुकाम लिबाङदेखि २८ कोष (करिब ६८ किलोमिटर) दुरीमा पर्छ।

एकीकृत बसोबास थवाङ्गेहरुको पुरानो विशेषता हो। उनीहरुको एकीकृत बसाई हेर्दा लोभलाग्दो देखिन्छ। बस्तीको नजिकै एउटा सामुदायिक विद्यालय छ। उक्त विद्यालयको नाम ‘श्री वीर बलभद्र माध्यामिक विद्यालय’ हो। सो विद्यालय २०१५ सालमा स्थापना भएको थियो।

राजनीतिक रूपमा चर्चित ‘थवाङ’ विकास, पूर्वाधार, स्वास्थ्यका दृष्टिकोणले पछाडि परेको मानिन्छ। शैक्षिक सूचकांकमा पनि थवाङ तल मानिदै आएको थियो। तर यसपालि भने थवाङमा रोल्पा जिल्लाकै सुधारिएको शिक्षा भेटिएको छ। थवाङको वीर बलभद्र विद्यालयले एसईईमा रोल्पाका अन्य विद्यालयहरुभन्दा उत्कृष्ट नतिजा दिएको छ। रोल्पामा हालसम्म एसईईमा ग्रेड ‘ए प्लस’ नतिजा भेटिएको थिएन। तर, थवाङले यसपालि त्यो नतिजा दिलाएको छ ।

सामुदायिक विद्यालय श्री वीर बलभद्र माध्यामिक विद्यालय, थवाङका दुई विद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसईई) मा ए–प्लसको नतिजा ल्याएर जिल्लाबाटै ए–प्लस दिलाउने पहिलो स्कुलको रेकर्ड बनाएको छ। उक्त सामुदायिक विद्यालयमा अध्यानरत नेत्रज्योती रोका र चिरञ्जीवी पुनले ए–प्लस ल्याएका हुन्। यो नतिजासँगै थबाङले शैक्षिक क्षेत्रमा पनि नयाँ इतिहास बनाएको छ।

रोल्पाबाट विगतका बर्षहरुमा नीजि तथा अन्य कुनै पनि सामुदायिक विद्यालयहरुले ए–प्लसको नतिजा दिन सकेका थिएनन्। सामुदायिक विद्यालयतर्फ जिल्लाभरबाट ए–प्लस नतिजा ल्याएको यो पहिलो रेकर्ड हो। थवाङबाट एसईईमा ३३ जना विद्यार्थी सहभागी भएका थिए। त्यस मध्ये २ जनाले ए प्लस, ७ जनाले ए, ३ जनाले बी प्लस, ७ जनाले बी, १२ जनाले सी प्लस र २ जनाले सी ग्रेड ल्याएका छन्।

२०१५ सालमा स्थापना भएको वीर बलभद्र माध्यामिक विद्यालय थवाङमा बाल विकास अन्तर्गत मन्टेश्वरी, नर्सरी, केजी देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुन्छ। त्यसैगरी कक्षा १ देखि ५ सम्म विद्यार्थीको चाप बढेपछि दुई सेक्सनमा अध्ययन हुन्छ। अन्य कक्षाहरुमा एक/एक सेक्सनमा अध्यन अध्यापन हुन्छ।

Thawang school

विद्यालयमा कृषि, वनलगायत प्राविधिक विषयको पढाइ हुँदै आएको छ। मन्टेश्वरी देखि कक्षा ११ सम्म अंग्रेजी मिडियाम लागू भएको छ। आगामी वर्षदेखि कक्षा १२ मा पनि अग्रेजी माध्यमबाट अध्ययन हुने विद्यालयका प्रधानाध्यापक कुल बहादुर ओलीले बताए ।

नेपाली पढ्न चाहाने विद्यार्थीहरुका लागि कक्षा ९ देखि नेपाली माध्यामबाट (ऐच्छिक) पठन पाठन हुने व्यवस्था पनि गरिएको छ। विद्यालयमा सबै ३६ जना शिक्षकहरु रहेका छन्। जसमध्ये कम्तिमा १० जना शिक्षकहरु निजि स्रोतबाट व्यवस्थापन गरिएको छ भने अन्य स्थायी तथा अस्थायी शिक्षकहरु रहेका छन्।

हाल विद्यार्थी संख्या ७ सय २७ जना भर्ना भएका छन् भने कक्षा ११ का विद्यार्थीहरु अझै भर्ना हुन बाँकी रहेको प्रधानाध्यापक ओलीले बताए। एसईई दिनुपूर्व विद्यार्थीहरुलाई तयारी कक्षाको व्यवस्था गरिएको थियो। कक्षा १० का एसईई दिने विद्यार्थीहरुलाई ६ महिनासम्म अनिवार्य होस्टेलको व्यवस्था समेत गरिएको प्रधानाध्यापकले बताए।

आगामी दिनमा योभन्दा अझै राम्रो नतिजा ल्याउनेमा प्रधानाध्यापक ओली ढुक्क छन्। उनले भने, विद्यार्थीहरुको पठन पाठनको बलियो आधार भनेको बाल विकास हो। बाल विकासलाई राम्रोसंग सुधार गरिए माथिका क्लासहरुको बेस त्यसै राम्रो बन्दै जान्छ। त्यसैले अहिले हाम्रो विद्यालयमा बाल विकासलाई सबैभन्दा राम्रो सुधार गरेका छौं, बाल विकासमा पुरै मन्टेश्वरी पद्दति छ। यसको परिणाम अझै राम्रो देखिने छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्