काठमाडौं, १६ असार । विवेकशील नेपाली दलले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ।
यही आसार १३-१५ सम्म रोल्पाको लिवाङमा आयोजित नीति सम्मेलनले प्रमूख ६ पदाधिकारीहरु मध्ये ३ पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।
अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना, महासचिव वा कोषाध्यक्षमध्ये एक र दुई सचिव मध्ये एक जना महिला प्रत्यक्षरुपमा निर्वाचित हुने सुनिश्चिता गरेको प्रवक्ता मिलन पाण्डेले जानकारी दिए। त्यस्तै संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तिमा २१.६२ प्रतिशत गरी ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गर्ने निर्णय विवेकशीलले गरेको छ।
केन्द्रीय समितिमा बढीमा ९९ जना रहने र पदाधिकारीसहित ७४ जना प्रत्यक्षरुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ। अधिकतम २४ जना मनोनित हुनेछन्। केन्द्रीय समिति सदस्यहरु खुला, प्रदेश र समावेशी समूहबाट निर्वाचित हुने छन्। यस्तै, १८ देखि २१ वर्ष उमेर समूहका फरक फरक लिंगका २ जना सदस्यहरु पनि केन्द्रीय समितिमा निर्वाचित हुने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए।



लाेकपाटी न्यूज

