बारा, १६ असार । जिल्ला प्रहरी कार्यालय बाराले एक विद्यालयका प्राधानानाध्यापकलाई पक्राउ गरेको छ।विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा ८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रमूख सानुराम भट्टराईका अनुसार ठाकुरले विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परेको थियो।
‘अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैँ नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको देखिएको छ’, भट्टराईले भने, ‘उनले पछि जागिर नभएको भन्दै रकम नभएको चेक दिएका थिए।’ एउटै शैलीबाट ठाकुरले २० जनालाई ठगेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ। पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ।



लाेकपाटी न्यूज

