काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताएका छन्।
नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने बताएका हुन्। प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे।
‘जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो। आफैँ सक्ने भए छिटो गर्न पर्यो’, ओलीले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन। यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ।’
सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने बताउदै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो जवाफ दिनुपर्छ भने।प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफू तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने बताए।
विमान खरिद गर्दा कमिशनको खेल हुनेतर्फ औल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिशन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिशनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए।राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाँप्न सरकार तयार भएपनि आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए।
सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने पनि उनले बताए।सधैं सरकारको मुख ताकेर नबस्न सुझाव दिँदै ओलीले नाम वायुसेवा भए पनि दान पूण्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको बताए।



लाेकपाटी न्यूज

