प्रकाशको स्मृतिमा कार्यक्रम गरिने, भोलि ३८ औं जन्मजयन्ती

prakash dahal-1
लाेकपाटी न्यूज

काठमाडौं। तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) का पोलिट्ब्यूरो सदस्य एवं लोकप्रिय युवा नेता प्रकाश दाहाल ‘साकार’को स्मृतिमा मंगलबार विशेष कार्यक्रम हुने भएको छ। दाहालको ३८ औं जन्मजयन्तीको सन्दर्भ पारेर प्रकाश दाहाल फाउण्डेशनले उक्त कार्यक्रम गर्न लागेको हो।

फाउण्डेशनले भोलि (मंगलबार) काठमाडौंको राष्ट्रिय सभागृहमा सगरमाथा आरोहण र पर्वतीय पर्यटनमा विशेष योगदान गर्ने पाँच जना व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको प्रमूख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा फाउण्डेशनको तर्फबाट सहयोग घोषणा गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।

फाउण्डेशनले असार १७ गते बिहान ११.३० बजे कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध समेत गरेको छ । मंगलबार नै प्रकाश दाहालकी जीवनीसंगिनी एवं संघीय सरकारका खानेपानी मन्त्री बिना मगरको संयोजकत्वमा फाउण्डेशनको घोषणा गरिने भएको छ। जन्म जयन्तीका सन्दर्भमा दाहालका समर्थक र शुभेच्छुकहरुले उनका योगदानको स्मरण गर्नेछन्।

नेकपाका लोकप्रिय युवा नेता प्रकाश दाहाल सगरमाथा आरोही पनि हुन्। युवा पुस्ताबीच निकै लोकप्रिय दाहाल व्यवस्थापकीय कौशल, सूचना प्रविधि र जनसम्पर्कमा निकै पोख्त थिए। दाहालको २०७४ मंसीर ३ गते हृदयघातका कारण निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्