काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदिशा विवाद मिलेको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपश्चात् विवाद मिलेको हो। पार्टीको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै रहने सहमति जुटेको छ।
कार्यदिशाको विवाद मिलेसँगै पार्टी एकताको बाँकी काम टुंगो लगाउन आन्तरिक तयारीमा शीर्ष नेता जुटेका छन्। अध्यक्षद्वय ओली, दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एकताको बाँकी काम टुंगो लगाउने तयारीमा जुटेका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिनापछि कार्यदिशामा विवाद बल्झेको थियो। कार्यदिशाको विवाद मिलेसँगै एकताको बाँकी काम टुंगो लाग्ने निश्चित भएको छ। कार्यदिशाको विवादमा सहमति जुटेपछि शीर्ष नेताहरु पनि उत्साहित भएका छन्।
३ जेठ २०७५ मा दुई पार्टीबीच एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो। तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जवज) र माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता गरेका थिए। दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए।
अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादमा सहमति भए पनि अहिले पार्टीको सम्पूर्ण एकता टुंगो नलाग्दै विवाद सुरु भएको थियो। नेकपा स्रोतका अनुसार अहिले जनताको जनवाद नै राजनीतिक कार्यदिशा रहनेमा सहमति भएको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमालेले अवलम्बन गर्दै आएको जवजलाई पार्टीको कार्यदिशा बनाउनुपर्ने लबिङ गरेका थिए। यसैगरी, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताका क्रममा भएको सहमतिअनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने अडान राखेका थिए।
पार्टी एकता गर्ने समयमा भएको सहमतिअनुसार जनताको जनवादलाई पार्टी सचिवालय र स्थायी कमिटी बैठकले समेत पारित गरिसकेको छ। तर, सचिवालय र स्थायी कमिटी बैठकले पारित गरिसकेको विषयमा मतभेद सुरु भएपछि त्यसको प्रभाव पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा परेको थियो।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीको राजनीतिक कार्यदिशा विवाद मिलेको बताए। विगतमा भएको सहमतिअनुसार नै अगाडि बढ्ने उनले बताए। उनले पार्टी शीर्ष नेताबीच भएको पटक–पटकको छलफलपश्चात् सहमति जुटेको बताए। राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने ओली–दाहालबीच सहमति भएको छ।
नेकपा वरिष्ठ नेताद्वय नेपाल, खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता सचिवालय र स्थायी कमिटीले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने पक्षमा छन्। पार्टीको कार्यदिशाका विषयमा सहमति जुटेसँगै एकताको बाँकी काम टुंगो लगाउने निश्चित भएको छ। अहिले शीर्ष तहका नेता एकताको बाँकी काम टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका छन्।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेताबीच गम्भीर छलफल भइरहेको बताए। छिटट्ट नै सबै तहका कमिटी एवं नेताले ठोस जिम्मेवारी पाउने उनले बताए। सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा टुंगो लगाउने तयारी भइरहेको छ।
पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभाग गठन र आयोगको गठन अझै टुंगो लागेको छैन। जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद छ। आजको राजधानी दैनिकमा खबर छ।



लाेकपाटी न्यूज

