‘बाबुरामको विरोध गर्नेहरुले बुझुन्, ओवामाले पनि वर्षैभरि कुम्लो बोक्दैनन्’

Baburam Dan diwas
लाेकपाटी न्यूज

काठमाडौं/लोकपाटी टिप्पणी। आइतबार असार १५ अर्थात् राष्ट्रिय धान दिवस देशैभरि धान रोपेर मनाइयो। यस दिवसलाई सबै नेपालीहरुले राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको धेरै भएको छैन। आइतबार पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखामा धान रोपे।

डा. भट्टराई मात्रै होइन, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पनि बर्दियामा धान रोपेर धान दिवस मनाए। तर, डा. भट्टराईको धान रोपाइ अरुको भन्दा पृथक थियो। उनी जनतालाई देखाउन वा सामाजिक सञ्जालमा फोटो पोस्टाउन धान दिवस मनाएका थिएनन्, एक दिन भए पनि साँच्चै हली बनेर किसान जसरी नै धान दिवसमा समर्पित भएका थिए।

कट्टु, चुयाको टोपी र टिसर्टमा खेतमा पसेका भट्टराईले दाँते लगाएर धान दिवस मनाएका थिए। तर, उनको धान दिवसलाई कतिले खिसीट्युरी पनि गरे। कतिले देखाउनका लागि बाबुरामले नाटक गरेको भन्नसम्म भ्याए। छालाका जुत्ता, कोट पाइन्ट लगाएर, आलीको डिलमा उभिएर हिलोमा छोइएला कि झैं गरेर धान रोप्नेहरुको तुलनामा बाबुरामको धान दिवस साँच्चिकै प्रशंसा गर्न लायक थियो। तर, हरेक कुरालाई राजनीतिक रंग दिने हाम्रो चश्माले उनको कामलाई प्रशंसा गर्न सकेन।

नेपाली नागरिक नेपालका राजनीतिकर्मीका दैनिक गतिविधि देखेर वाक्कदिक्क छन्। उनीहरु नेपाली नेताहरुले पनि विदेशी नेताहरुबाट केही सिकुन् भन्ने चाहन्छन्। त्यसैले होला सी चिनफिङले आफैं छाता ओढेको, बाराक ओवामाले कुम्लो बोकेको, मोदीले सामान्य चिया पसलमा चिया पिएको तस्वीर हाम्रोमा बढी नै भाइरल हुन्छ। त्यसको एउटै भावार्थ हो, ‘नेपाली नेताहरु पनि त्यस्तै सरल होउन्, जनतासँग जीवित सम्बन्ध राखुन्।’

तर, ओवामाको कुम्लो र सीको छाता देख्ने हाम्रो नजरले बाबुरामको धान रोपाइ देख्दैन। ओवामा र सीको काम सक्कली देख्छ, अनि बाबुरामको रोपाइ नक्कली। एकछिनलाई मानिलिउँ, बाबुरामले लोकलाई देखाउन नै धान रोपेका थिए, हली बनेका थिए। कुरा त्यसो नै हो भने पनि त उनी वास्तविक हली भएर धान दिवस मनाएनन् र ? उनको एउटै तस्वीरले भन्छ, ‘उनले हलो जोत्न भुलेका छैनन्, दाँते लगाउने उनको कौशल पेशेवर हलीको भन्दा कम छैन।’

सीले पनि जिन्दगीभर आफै छाता ओढ्दैनन्, जुन दिन आफैं ओढ्छन्, त्यही दिनको फोटो भाइरल हुन्छन्। ओवामाले पनि जिन्दगीभर कुम्लो बोक्दैनन्, जुन दिन कुम्लो बोक्छन्, त्यही भाइरल हुन्छ। नेपालका नेताहरु केपी शर्मा ओली, प्रचण्ड, गगन थापा लगायतले पनि एक दिन गरेको नमूनायोग्य काममै प्रचार हुने हो। देशमा जुन दिनमा जुन दिवस मनाइन्छ, त्यही दिन सारा देश एक ठाउँमा उभिने हो। अरु बेला सबैका आ–आफ्नै पेशा छन्, जिम्मेवारी र बाध्यता पनि छन्।

हामी हरेक कुरा राजनीतिक चश्माले हेर्छौं। तर, वस्तुगत सत्य भुलिदिन्छौं। बाबुरामले चाहेर पनि ३६५ दिन नै हलो जोत्न सक्दैनन्, त्यो उनको कर्म पनि होइन। किनकि, उनी देशका नीति निर्माता हुन्, उनको काम नागरिकमैत्री नीति बनाउनु हो। त्यसमा उनी कति चुके, त्यो अलग्गै बहस र चर्चाको विषय हो। तर, धान दिवसमार्फत् उनले जुन सन्देश दिएका छन्, त्यसलाई राजनीतिक चश्मा खोलेर खुल्ला दिलले स्वागत र सम्मान गर्न सक्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्