गोरखा, १५ असार । असार १५ मा समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रोपाइँमा सहभागी भएका छन्।
भट्टराई आफ्नै पुख्र्यौली थलोमा रहेको खेतको रोपाइँमा सहभागी भएका हुन्। पालुङटार नगरपालिका १ खोप्लाङस्थित ज्योति चौतारामा रहेको पुख्र्यौली खेतमा बाबुराम अन्य किसानसँगै झन्डै डेढ घण्टा काम गरे।‘बिउ रोप्नुभयो, दाँते चढ्नु भयो, कोदाली लिएर आफैँ बाउसे गर्नुभयो,’ स्थानीय सन्तोष पोखरेलले भने, ‘उहाँ आफैँ काम गर्न तम्सिएपछि अरू किसान पनि हौसिए।’
भट्टराई हिलोमा पसेर काम थालेपछि स्थानीयले पनि उनीसँगै रमाए।‘१०-१२ हल गोरु लिएर किसान स्वतःस्फूर्त रूपमा काममा आए,’ उनले भने, ‘पाँच हल गोरु लाग्ने खेतमा १०\१२ हल आएपछि रोपाइँ पनि चाडै सकियो।’
आफू रोपाइँमा सहभागी भएको तस्बिर भट्टराईले फेसबुकमा पनि राखेका छन्। उक्त स्थानमा भट्टराईकी छोरी मानुषीको नाममा झन्डै पाँच रोपनी जग्गा छ। पुख्र्यौली थलोको खेतमा झन्डै ४० वर्षपछि रोपाइँमा सहभागी बनेको भट्टराईले बताए।
उनले विदेशबाट धान आयात बढेको भन्दै चिन्ता जनाए। ‘आधुनिक प्रविधिको प्रयोग र उन्नत बिउ लगाएर उब्जनी बढाउनुपर्छ,’ भट्टराईले भने। गत वर्षको असार १५ मा जरेबरमा भएको रोपाइँमा भट्टराई सहभागी बनेको थिए। ‘यो वर्ष वडा नम्बर १ ले पनि आयोजना गरेको रहेछ, संयोगले पुख्र्यौली खेतको रोपाइँमा सहभागी हुन पाएँ,’ उनले भने।



लाेकपाटी न्यूज

