काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज आइतबार चीन प्रस्थान गर्दै छन्।
चीनको डालियानमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने मञ्चको १३ औँ वार्षिक बैठकमा सहभागी हुन ज्ञवाली त्यसतर्फ जान लागेका हुन्। विश्व आर्थिक मञ्चको यस वर्षको बैठकको सार ‘विश्वव्यापीकरणको नयाँ युगमा सफलताका लागि आवश्यक नेतृत्व’ रहेको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले भोलि फोरमको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी सन् २०२० को ‘जि–टेवेन्टी’ एजेण्डा तय गर्न बस्ने बैठकमा समेत सहभागी हुनेछन्। चीन भ्रमणमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिज्ञ तथा व्यापारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी बुधवार डालियानबाट बेइजिङ पुग्नेछन्। बेइजिङमा उनले चीनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने तयारी छ।
मन्त्री ज्ञवाली यही असार १८ गते स्वदेश फर्कने छन्।



लाेकपाटी न्यूज

