काठमाडौं, १४ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने बताएका छन् ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर आफूहरु अहिलेसम्म बाँचिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी पनि मारिन सक्छौं ।’
जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बाेल्दै प्रचण्डले भने ‘कमरेड मदन भण्डारी ४०–४५ वर्षकै उमेरमा मारिनुभएको थियो । हामीहरु भने ६०–६५ वर्षसम्म पनि बाँचिरहेका छौं । अब मारिन पनि सक्छौं ।’
मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको उल्लेख गर्दै प्रचण्डले अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्नसक्ने क्षमता विकास नभएको बताए ।
अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको पनि बताए । ‘हामी सबैलाई लाग्छ, त्यो कुनै दुर्घटना हैन । भयानक डिजाइनअन्तर्गत गरिएको हत्या हो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘मोटामोटी हामीलाई आधार लाग्छ पनि, यो विदेशी, त्यो विदेशी शक्तिले, देशभित्रको यो तत्व र त्यो तत्वले हत्याकाण्ड मच्चाएको हो भन्ने लाग्छ । तर, नाम लिएर भन्न सकिने अवस्था छैन ।’
उनले भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए। उनले नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर कांग्रेसले नसोच्न आग्रह गरे।
‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ। नेकपामा झगडा भएर सत्ता हामीकहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न’, उनले भने,‘अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।’
दुई पार्टी मिलेर नेकपा बनेको भन्दै नेकपाको सफलता नै देशको सफलता हुने उनले बताए। ‘हाम्रो सफलता देशको सफलता हुनेछ। हामी असफल भयौं भने मुलुक असफल हुनेछ। यो व्यवस्था असफल हुनेछ र विभाजनकारी शक्ति बलियो बन्नेछन्’, उनले भने, ‘नेकपा असफल भयो भने मुलुक असफल हुनेछ। व्यवस्था असफल हुनेछ। तपाईं (नेकपाका नेता कार्यकर्ता) ले पनि हामीकहाँ आएर कुरा लगाउनु हुन्न। ऊ त खत्तम रहेछ भन्न हुँदैन।’
उनले मदन भण्डारीले सोच्ने शैलीलाई आफूहरूले अनुशरण गर्नुपर्ने बताए। उनले भने, ‘हामी पनि मान्छे हौं, कुरा सुन्दा दिमाग खराब हुन्छ नै। मदन भण्डारीले सोच्ने शैलीलाई हामीले अनुशरण गर्नुपर्छ। योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने तथा परिस्थितिलाई ठीक ढंगले विश्लेषण गरेर आत्मसात गर्ने व्यक्ति हुनुहुन्थ्यो। मदन भण्डारी जड र संकीर्ण सोच भएको व्यक्ति हुनुहुँदैनथ्यो।’



लाेकपाटी न्यूज

