‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, राजनीतिक सफाइ पनि आवश्यक छ ’ : सभामुख महरा

Krishna Bdr Mahara
रासस न्यूज

काठमाडौं, १४ असार । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन्। हनुमन्ते सफाइ अभियानको ७० औँ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ।’

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले भने,’अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन्।’

व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।