मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा पार्टीमा छलफल नै गरिएकाे छैन : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

काठमाडाैं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले मन्त्रिपरिषदमा हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल नै नभएको बताएका छन्।

बिहीबार कैलालीमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले अहिले मन्त्रिपरिषदमा हेरफेर भन्दा पनि सरकारको काम कारबाहीका बारेमा समीक्षा गर्ने बेला भएको बताए।

‘मन्त्रिपरिषदमा हेरफेर गर्ने कुरा बाहिर चर्चामा आएको छ, पार्टीभित्र भने यसबारे छलफल भएको छैन’, नेता रावलले भने, ‘अहिले परिवर्तन भन्दा पनि सरकारको कामको समीक्षा गर्ने बेला भएको छ।’ उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा मन्त्रिमण्डल फेरबदल गर्ने/नगर्ने बारेमा भन्न सकिने बताए।

उनले भने, ‘मन्त्रिमण्डल फेरबदल गर्न आवश्यक देखियो भने पार्टीले त्यसबारे आवश्यक छलफल गर्नेछ। अहिले बाहिर आइरहेका कुराबारे मलाई जानकारी छैन।’ नेता रावलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु आजको आवश्यकता रहेको बताउँदै बाँकी एकताको कामले छिट्टै पूर्णता पाउने बताएका छन्।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै उनले नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेको जानकाी दिए। उनले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए।