दार्चुला, १२ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध बुधबार रातिदेखि खोलिएको छ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बुधबार राति १२ बजेदेखि बाँध खोलिएको हो। बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमूख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन्। महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए।
बाँध बिहीबार बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। यस्तै दार्चुलाको व्यास गाउँपालिका ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमूख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ।



रासस न्यूज

