जनकपुरधाम, १२ असार । धनुषाको विदेह नगरपालिका ६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित बनेका छन्।
बुधबार आन्दोलनकारीले हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका छन्। तलब नपाएको भन्दै शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’ गरेका छन्। जसका कारण पठनपाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन थालेका हुन्। हुलाकी सडकमा टायर बालेर अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रुहरु अलपत्र परे। सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका थिए।
विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठनपाठन सुचारु गर, मेयर दास मुर्दावाद जस्ता नारा लगाएका थिए।विद्यार्थीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।आक्रोशित विद्यार्थीले मयेर दासको गाडी घेरेका थिए।विद्यार्थी र शिक्षकको आन्दोलनमा ४ वडाध्यक्ष र वडा सदस्यहरुलेसमेत समर्थन जनाएका छन्।
यता, मेयर दासले प्रधानाध्यापक पवन मण्डल र शिक्षक ब्रह्मदेव यादवबाहेक सबैको तलब निकासा गरिसकेको दावी गरेका छन्। ‘प्रधानाध्यापक मण्डलको काज सरुवा यही नगरपालिका २ स्थित शंकर माध्यमिक विद्यालयमा गरेको हो।
उनैले विद्यार्थीलाई उचाल्ने काम गरेका छन्’, मेयर दासले भने, ‘त्यसैले यी दुई जनाको तलब पठाइएको छैन। बाँकी सबैको पठाइसकेको छु।’
प्रधानाध्यापक मण्डलले भने विद्यालयमा ५१ शिक्षक कार्यरत रहे पनि करिब ३० जनाको तलब मात्रै पठाएको दाबी गरे।‘आगोमा घिउ हाल्दा निभ्छ ? ३० जना शिक्षकको मात्र तलब पठाएपछि कसरी विद्यालय चल्छ ?,’ उनले प्रश्न गरे।काज सरुवा गरेकोबारे आफूले जानकारी नपाएको उनले बताए। सबै शिक्षकको तलब नपठाएसम्म विद्यालय सञ्चालनमा नआउने उनको भनाई छ।
यता, विद्यार्थीहरुले मेयर दासले विद्यालयको वातावरण विगारेको आरोप लगाएका छन्। विद्यालयको पठनपाठन सुधार गरेका मण्डललाई मेयरले अन्यत्र पठाउन खोजेको आरोप उनीहरुको छ। छात्रवृत्तिसहित विभिन्न शीर्षकका करोडौँ रुपैयाँ रोकेपछि विवाद सुरु भएको एक अभिभावकले बताए। उनका अनुसार मेयर र प्रधानाध्यापकबीचको मतभेदको मारमा विद्यार्थी परेका छन्।



लाेकपाटी न्यूज

