काठमाडौं, ११ असार । पार्टी एकतालाई अन्तिम रुप दिने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज छलफल भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान एकताको बिषयमा लामो छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी उनीहरुबीच मुख्यत पार्टी एकताकै विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ।
छलफलमा पार्टी एकता हुन नदिन र परिस्थिति बिथोल्न धेरै शक्ति लागि परेकाले पार्टी एकतालाई अन्तिम रुप दिएर त्यसका विरुद्ध लड्नुपर्ने निश्कर्ष निकालिएको छ। दुबै नेताले अब ढिला नगरी पार्टी एकता टुंग्याएर सरकारको कामलाई अझै तीब्रता दिने निश्कर्षसमेत निकालेका छन्।
पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन्। प्रधानमन्त्रीले अहिले विभिन्न विषयमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बताइएको छ।



लाेकपाटी न्यूज

