काठमाडौं, ११ असार । चीनियाँ कम्युनिस्ट पार्टी विश्वकै फलामे अनुशासन भएको चुस्त मानिन्छ। धेरैले चीनको छलाङ र विश्वव्यापी प्रभावलाई पार्टी अनुशासनकै उपज मान्छन्।
तर, चीनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङ अझै पनि पार्टीको पछिल्लो गतिविधि र अवस्थाबाट उति सन्तुष्ट छैनन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही समयदेखि आहृवान गर्न थालेका छन्।
पार्टीलाई नयाँ युगमा लैजान र लामो समयसम्म शासन गर्न पनि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको सीको भनाइ छ। सिन्हृवा समाचार एजेन्सीका अनुसार, पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले आयोजना गरेको समूहगत अध्ययन सत्रको अध्यक्षता ग्रहण गर्दै सीले सोमबार पार्टीका नेता-कार्यकर्तालाई आन्तरिक शुद्धीकरणमा होमिन गम्भीरतापूर्वक आहृवान गरेका छन्।
‘चीनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालसम्म शासन गर्नका लागि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको छ’, पार्टीको वास्तविक उद्देश्य स्मरण गराउँदै सीले कार्यक्रममा व्यक्त गरेको भनाइ उद्धृत गर्दै सिन्हृवाले लेखेको छ। पार्टी शुद्धीकरणका लागि केही सैद्धान्तिक पद्धतिसमेत उनले अघि सारेका छन्। जसबाट पार्टी थप गतिशील हुने उनको विश्वास छ।
सिले माक्र्सवादी ढंगले शासन गर्ने जीवन्त पार्टी निर्माणका लागि जोड दिँदै यसले नै जनताको वास्तविक चाहना पूर्ति गर्ने पनि प्रष्ट पारेका छन्। त्यसका लागि पार्टी कमजोर पार्ने गतिविधि निर्मूल पार्नुपर्ने भन्दै त्यसमा जुट्न सीले नेता-कार्यकर्तालाई अपिल गरे।
चीनियाँ कम्युनिस्ट पार्टीको ९८ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा सीले पार्टी स्थापनाको लक्ष्य स्मरण गराउँदै त्यसमा उदाहरणीय ढंगले पेश हुन आहृवान गरेको सिन्हृवा समाचारले लेखेको छ।मन्तव्यका क्रममा सीले चिनियाँ जनताको खुसी र पार्टीको स्थापनाकालीन उद्देश्य नेता(कार्यकर्तालाई पटक-पटक स्मरण गराएका थिए।
‘चीनियाँ कम्युनिस्ट पार्टी जनताको खुसी र आफ्ना नागरिकको आकांक्षा पूरा गर्ने लक्ष्यमा निरन्तर लागिरहेको छ’, सीको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ। यही कारण निरन्तर चीनियाँ जनताको माया पाएको पनि उनले उक्त अवसरमा बताए।



लाेकपाटी न्यूज

