काठमाडौं। ‘नानीदेखि लागेको बानी’ अर्थात् बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ। त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ। जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नका लागि मद्दत गर्छ।
बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो। कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन्। कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ। कतिपय कुरा ठूलो भएपछि आफै सिक्छन्। तर, केही यस्ता बानी हुन्छन्, जुन बच्चामै सिकाउनुपर्छ।
१. सही र गलतको फरक छुट्टाउन – बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस्। अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ। यदि बच्चा सही र गलतबीच फरक छुट्याउन सक्ने हुन्छन्, उनीहरुले कहिल्यै गलतको पनि साथ दिँदैनन्। सहीको नै साथ दिन्छन्।
२. आफूभन्दा ठूलो मानिससँग बोल्न – सबैभन्दा पहिला बच्चालाई आफूभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस्। उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ, त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ।
३. धैर्य राख्न – आजकलका बच्चामा धैर्यताको कमि देखिन्छ। उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ। बच्चालाई धैर्य गर्न सिकाउनुहोस्। उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस्।
४. सेयरिङ गर्न – बच्चामा सुरुबाट नै सबै कुरा अरुसँग बाँड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ। यसबाट सम्बन्ध बलियो हुन्छ। यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ। बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनका लागि मात्र होइन भनेर सिकाउनुपर्छ।
५. अर्कालाई सहयोग गर्न – यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ। बच्चालाई यस्तो कुरा सिकाउनुहोस्। जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ। उनीहरुको भावनालाई प्रेरित गर्नुहोस्। सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेका मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस्।
६. समयको कदर गर्न – आफ्ना बच्चालाई समयको कदर गर्न सिकाउनुहोस्। जीवनमा अगाडि बढ्नका लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ। आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस्। बच्चालाई कामप्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस्। बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस्। बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस्।
७. थ्याङ्क्यु र सरी भन्न – बच्चालाई थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस्। यसबाट बच्चामा अरुप्रति सम्मानको भावना विकसित हुन्छ। यसले बच्चा भविष्यमा नैतिकवान् पनि हुँदै जान्छ।
८. ठूलाको कुरा मान्न – बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ। उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस् कि ठूलोले केही कुरा भनेको तिम्रो हक र हितकै लागि हो। आफूभन्दा ठूलाले पढेर भन्दा पनि व्यवहारबाट धेरै कुरा सिकेका हुन्छन् भन्ने कुरा उसको दिमागमा हालिदिनुस्।
९. प्रार्थना गर्न – बच्चालाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस्। यसबाट बच्चामा आत्मविश्वास बढ्छ। प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ। प्रार्थना शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
१०. इमान्दार बन्न – बच्चालाई इमान्दार बन्न सिकाउनुहोस्। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस्। यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिल्यै पनि झुट बोल्दैन, गलत काम पनि कहिल्यै गर्ने छैन।



लाेकपाटी न्यूज

