समाजवादी पार्टीका नेता यादव निलम्बित

pradeep pic
लाेकपाटी न्यूज

काठमाडौं, ११ असार । समाजवादी पार्टीले सांसद प्रदिप यादवलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको हो।

स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएपछि आलोचनामा आएका यादवलाई पार्टीले कारवाहीस्वरुप निलम्बन गरिएको हो।  सांसद यादव केही समय अगाडी लाट्भियामा भएको स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएका थिए।

लगत्तै उनको चर्काे आलोचना भएको थियो। उनीसंगै उक्त कार्यक्रममा राजपाका सांसद एकवाल मियाँ पनि पुगेका थिए। नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चीनियाँ दूतावासले चासो देखाएको थियो। चीनियाँ चासोपछि समाजवादी पार्टीले सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो।

यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो। तर सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय नगरिएको पार्टीले जनाएको छ। यता विवाद भएपछि दुबैले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा भुलबस पुगेकोे र अन्जानमा गल्ती भएको भन्दै क्षमा मागेका थिए।

उनीहरूले व्यक्तिगत हैसियतमा नीजी तबरबाट टर्की, स्विट्जरल्यान्ड र लाट्भियाको भ्रमणमा गएको र लाट्भियाको राजधानी रिगामा कानून निर्माताको अन्तर्र ष्ट्रिय सम्मेलन हुन गइरहेको भन्ने गलत सूचनाका कारण अज्ञानताबस् उक्त सम्मेलनमा सहभागी हुन पुगेको भन्दै स्पष्टीकरण दिएका थिए।