विकासको काममा हुने कुनै अवरोध स्वीकार्य छैन : बीना मगर

bina magar
लाेकपाटी न्यूज

कञ्चनपुर, १० असार । खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनै पनि अवरोध स्वीकार्य नहुने बताएकी छन्। कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताएकी हुन् ।

उनले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन्। उनले भनिन्, ‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भइरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उनले थपिन्, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमूना क्षेत्रको रुपमा विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस् होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’

विकासको कार्यमा अवरोध पु(याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढ्ने उनको भनाइ छ । उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिइन्। नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं १ लाई नमूना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’

नगर सभामा नगर प्रमूख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्