काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
मंगलबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली फेरबदल हुने बताएका हुन् । उनले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन । त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जीकिर गरे । यद्यपि संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे । उनले भने, ‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।’
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको खुलासा गरेका छन् । उनले भने, ‘ओली सरकारले देश तथा मधेस कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको टिप्पणी गरे ।



लाेकपाटी न्यूज

