भारतले नेपाललाई माछापोखरी बनाउन खोजेको छ : सांसद गहतराज

Maheswor gahatraj
लाेकपाटी न्यूज

काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश्वर गहतराज ‘अथक’ले भारतले नियम विपरीत काम गरेर नेपाललाई माछापोखरी बनाउन खोजेको बताएका छन्। सांसद गहतराजले प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै यस्तो बताएका हुन्।

उनले गत असार ७ र ८ गते परेको भीषण वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाका बनियाँगाउँ, मटेरिया, भीमापुरिया, महादेवनगर, कोटिया, बाहनपुरुवा, रोसनपुरुवा लगायतका गाउँ प्रभावित भएको र ११ वटा घर पूर्ण रुपले क्षति भएको बताउँदै उद्धार र राहतका लागि तदारुकता अपनाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘वर्षका कारण बाँकेका सयौं घरहरु डुबानमा परेका छन्। यस दुःखको घडिमा ती पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै सरकारले तत्काल पीडितहरुको राहत र उद्धारको लागि तदारुकता अपनाओस् भन्ने माग गर्न चाहन्छु ।’

उनले तराईमा हुने डुबानहरु नेपालकै कारणले मात्र नहुने गरेको बताए। उनले भने, ‘तराईमा हुने डुबानहरु नेपालकै कारणले मात्र भएका छैनन्, वर्षाको कारणले मात्र भएका छैनन्। भारतले निर्माण गरेको १९५० को लक्ष्मणपुर बाँध, २००० मा बनेको कलकलौवा बाँध र हाल निर्माण भइरहेको ७ मिटर अग्लो सीमा सडक, जसले गर्दा आज तराईमा डुबानको स्थिति पैदा भएको छ ।’

उनले भारतका यस्ता गतिविधिले आगामी दिनमा नेपालको तराई क्षेत्रमा ठूलो भयावहको स्थिति निम्तिने देखाएको औंल्याए। उनले अघि थपे, ‘त्यसैले आज भारतले जुन ढङ्गले सीमावर्ती क्षेत्रमा आफ्ना पूर्वाधारका संरचनाहरुको विकास गरेको छ । ती संरचना भारतले १९६६ को हेल्सिङ के नियम २९ को २ विपरित काम गरिरहेको छ । यससम्बन्धमा म सरकारको गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तैगरी २००४ मा बनेको जलस्रोत सम्बन्धि नियम विपरित भारतले काम गरिरहेको र नेपालका प्राकृतिक वहावहरुलाई बन्द गरेर नेपाललाई एक किसिमको पानीपोखरी वा माछापोखरीको रुपमा विकास होस् भन्ने भारतले चाहेको प्रति नेपाल सरकारको ध्यान जान जरुरी रहेको उनले बताए।

उनले भने, ‘यो सम्बन्धमा सरकारले भारतसँग तत्काल कुटनैतिक छलफल र वार्ता गरेर नेपालबाट बग्ने सम्पूर्ण प्राकृतिक वहाबहरु प्राकृतिक ढङ्गले सञ्चालन हुने आधार खोजोस् । यसो भयो भने नेपालका डुबान क्षेत्रलाई बचाउने सम्भावना छ नत्र अझ भयावह स्थिति सिर्जना हुने देखिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्