काठमाडाैं, १० असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई पहिले हातखुट्टा भाँचेर गोली हानिएको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको बताए पनि घटनाको फोटो हेर्दा पहिले हातखुट्टा भाँचेर गोली हानेको देखिएको पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले बताएका हुन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा शर्माले गृहमन्त्री थापालाई प्रश्न गरे, ‘पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छर ? के गोली हानेपछि भाँच्चियो हातखुट्टा ? यस्तो घटनाले विद्रोह र जनतामा असन्तुष्टि आउँछ।’
शर्माले जनयुद्धमा निहत्था मानिस मारिएको स्मरण गर्दै भने, ‘के हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौं ? कानूनी कारबाहीमा साथ हुन्छ तर हत्यामा साथ हुँदैन,’ उनले भने, ‘यो मुठभेडमा हो भन्ने लाग्दैन।’
उनले विप्लवले मुठभेड चाहेकाले सरकार त्यसतर्फ जान नहुने बताए। साथै उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न पनि आग्रह गरे।
नेकपाकी सांसद रेखा शर्माले संकटकाल सम्झँदै भनिन्, ‘संकटकालमा एक वर्ष आर्मीको क्याम्पमा बस्दा भित्र हातखुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको थियो। कुमार पौडेलको हात चार/पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको छ त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ।’



लाेकपाटी न्यूज

