काठमाडौं, १० असार । प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ।
विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आहृवान गरेको हो। काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ। अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन्।
निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी कम मात्रामा चलेका छन्। सडकमा कमसवारी साधन चल्दा जनजीवन प्रभावित भएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन मंगलबार बिहानैदेखि ठप्प छन्। महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन्।
देशकै प्रमूख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ। यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन्। मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन्।
बन्दको प्रभाव सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ। काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन्। देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन्।सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन्।
कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ। ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको प्रेसर कुकर बम पनि सेनाको टोलीले निष्कृय पारेको छ। काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ।
प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो। यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज मंगलबार एक दिन नेपाल बन्द आहृवान गरेको हो। पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए।



लाेकपाटी न्यूज
