माेरङमा ट्याङ्करको ठक्करबाट शिक्षकको मृत्यु

लाेकपाटी न्यूज

मोरङ, ९ असार । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेका छन् । ना ४ ख १९०५ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को २६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमूख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

डिजेल पुर्‍याएर सिरहाबाट विराटनगरतर्फ फर्किँदै गरेको अवस्थामा भएको सो दुर्घटनामा गम्भिर घाइते भएको उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

पौडेल विराटनगरस्थित आइटीसम्बन्धि पढाई हुने हिमालय कलेजका शिक्षक हुन् । ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्