जनताले अनुभूति गर्ने गरी काम गर्छौं : अध्यक्ष प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज

चितवन, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्।

माडी नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउँदै अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको बताए ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनको भनाइ छ । अहिलेको परिवर्तन गुणात्मक भएको भन्दै उनले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अब जनताले विकासमा परिवर्तन चाहेको बताए।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै उनले भने, “पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।” माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दै अघि बढ्नेतर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए।

माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुुस नभई जनावरको आवश्यकतालाई महसुस गरेर ल्याइएको थियो, अब त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ । त्यसका लागि ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।”

उनले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिए। सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा रु १० करोडको उद्यान निर्माणको तयारी थालेको उनले उल्लेख गरे ।

उनले भने, “द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।” आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गरे । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उनलको भनाइ छ ।

नगर प्रमूख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले बोलेका थिए ।

यसैबीच माडी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु ९२ करोड ७० लाख ४८ हजारको बजेट पेश गरेको छ । जसमा चालुतर्फ रु १९ करोड ५० लाख र पूँजीगततर्फ रु ७३ करोड २० लाख ४८ हजार बजेट विनियोजन गरिएको नगर उपप्रमूख ताराकुमारी काजीमहतोले जानकारी दिइन् ।