पौडेल मृत्यु प्रकरण : एक हप्तामा छानविन प्रतिवेदन बुझाउन समितिकाे निर्देशन

Rajya_Byawastha_Samiti01
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट  पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एकसाता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी छानविन गरेर समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुठभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैँले गरेको भन्दै आपत्ति जनाए । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरुलाई कारवाही गनुपर्नेमा सरकार आफैँले गलत बाटो लिएको उनको भनाई थियो ।

यता, गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुठभेड नचाहेको बताएका थिए । उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताए ।

गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दाबी पनि गरे । असार ५ गते प्रहरीले चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई लालबन्दीमा हत्या गरेपछि सरकारले त्यसलाई मुठभेड भन्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्