काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका व्यवस्थापन र वित्तशास्त्र विषयका ८० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यशालाको उद्घाटन गर्दै व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विगतमा चरम राजनीतिले ग्रसित सरस्वती बहुमुखी क्याम्पस जुरुक्क उठेकोमा खुसी लागेको उल्लेख गर्दै मुलुक परिवर्तनको लागि यसबाट शिक्षा लिनुपर्ने बताए । उनले कार्यशालाबाट आर्जन गरेको सीप र ज्ञान व्यक्तिसँगै संस्थाले फाइदा लिनुपर्ने कुरामा जोड दिए ।
त्रिवि व्यवस्थापन सङ्कायका सहायक डीन दिनेशमणि घिमिरेले शैक्षिक गुणस्तरका लागि विश्वविद्यालय सही बाटोमा अघि बढिरहेको उल्लेख गरे। नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्यायले प्राध्यापकहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा समय सापेक्षित बाटो देखाउनुपर्ने बताए । उनले भने, ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्रै रहने वातावरण बनाउनुपर्छ ।’
नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमूख जीवनकुमार भट्टराईले व्यवस्थापन सङ्काय अन्तर्गतका विषयहरुमा विद्यार्थीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस खालका कार्यशालाहरुले प्राध्यापकहरुको शिक्षण सिकाईलाई अझ तिखार्ने बताए । स्वागत मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेण्ट सेल तथा बीबीए डाइरेक्टर प्रा.डा. सतीशकुमार ओझाले देशभित्र र विदेशमा फ्याकल्टीहरुले आफूलाई अब्बल सावित गर्न कार्यशालाले थप मद्दत गर्ने उल्लेख गरे।
उद्घाटन तथा समापन सत्रमा सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख डा. गोलमान गुरुङले सभापतिको आशनबाट बोल्नुहुँदै शैक्षिक क्षेत्रमा न्यून भ्रष्टाचारको विधि अपनाई विद्यार्थी र प्राध्यापकहरुको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिए ।
समापन कार्यक्रममा प्रमूख अतिथिको आशनबाट त्रिवि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. बालकृष्ण श्रेष्ठले केश टिचिङ पाडागोजीमा भएको कार्यशाला पहिलो पाइलाको शुरुवात भएको बताए । कार्यशालामा सहभागीहरुको तर्फबाट प्रा.डा. युवाराज भट्टराई, डा.पुष्पा महर्जन, अञ्जु गौचाले मन्तव्यको क्रममा ट्रान्स्फरमेशनको नमूनाको रुपमा सरस्वती बहुमुखी क्याम्पस मुलुकमै उदाहरणीय बनेको उल्लेख गरे . कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमूख शिवराज घिमिरेले गरेका थिए।
कार्यशालामा केश डेभलपमेण्ट र विश्लेषणतर्फ प्रा.डा. महानन्द चालिसे, सह प्रा.डा. ध्रुवलाल पाण्डे, सह प्रा.डा. गोविन्द तामाङ तथा एमएस एक्सलतर्फ प्रा.डा. राजनबहादुर पौडेल, सञ्जय घिमिरे र भरतसिंह थापाले सहजीकरण गरेका थिए।



लाेकपाटी न्यूज

