कुमार पौडेल गोलीकाण्डबारे गृहमन्त्रालयसँग छलफल हुँदै

Kumar paudel biplab cader
लाेकपाटी न्यूज

काठमाडौं, ८ असार । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ।

समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन्।त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धीत निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता लगाउन माग गरेका थिए।

सोमबार गृहमन्त्रीलाई विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने भनेर समितिले बोलाएको थियो। तर, आइतबारको बैठकमा कुमार पौडेलको विषयमा पनि कुरा उठेपछि दुवै विषयमा सोमबार छलफल गर्ने निर्णय भएको सभापति श्रेष्ठले बताइन्। त्यसअघि सांसद शर्माले विप्लव समूहका नेता पौडेललाई छियाछाया पारेर मारिएको जानकारी आफूले जनस्तरबाट पाएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका थिए।

‘संविधान र कानूनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन। तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो। सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्‍यो जनतालाई।’

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे। उनले यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिए। शर्माले भने, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ। मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने। यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारवाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्