बाहुनभित्र पनि जातीय विभेद छ : मन्त्री विश्वकर्मा

jagat-biswakarma
लाेकपाटी न्यूज

पोखरा। नेपाल सरकारका युबा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विश्वकर्मा कल्याण समाज कास्कीले स्थापना गरेको १२ लाख ५५ हजार रुपैंयाको अक्षय कोषको घोषणा गरेका छन्।

विश्वकर्मा कल्याण समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको विश्वकर्मा कल्याणकारी अक्षयकोष घोषणा कार्यक्रममा उक्त अक्षय कोषको घोषणा गरेका हुन्। कोषलाई बैंकमा मुद्यती खातामा जम्मा गरिने र कोषबाट प्राप्त हुने ब्याजको रकम बाट विश्वकर्मा परिवारका असहाय, गरीब, बेसहारालाई सहयोग गरिने समाजका अध्यक्ष मन बहादुर लामङ्गादेले जानकारी दिए।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सामन्ती राज्य व्यवस्थाले सिर्जना गरेको जातीय व्यवस्था दलित समुदायमा मात्रै नभई बाहुन क्षेत्रीमा समेत भएको बताए। उनले भने, बाहुनभित्रै पनि उपाध्याय बाहुन र जैसी बाहुन बीच विभेद छ। त्यसैगरि बाहुन र क्षेत्रीबीच पनि विभेद छ।’

विभेदका बिरुद्ध सबैले एकजुट भएर आवाज उठाउनुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिए। दलित समुदायलाई विभेद गरेका कारण समाज पछाडि परेको छ भन्दै मन्त्री विश्वकर्माले दलित समुदायको श्रम, सीप र प्रतिभालाई राज्यले देशमै प्रयोग गर्नसक्ने वातावरणको सिर्जना गर्नसके मात्रै बढ्दो बैदेशिक रोजगारलाई रोक्न सकिने बताए।

गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले राज्यले सबै जातजातिको अधिकारको संरक्षण गरेको बताए। गण्डकी प्रदेश सभा सदस्य रामजी बरालले जाीय बिभेद सामाजिक सत्तासँग जोडिएको विषय भएकाले यसलाई हटाउन जागरण आवश्यक रहेको बताए।

विश्वकर्मा कल्याण समाज कास्कीका अध्यक्ष मन बहादुर लामङ्गादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी, नेपाल विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश विश्वकर्मा बराइली, पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्ल, १८ का अध्यक्ष रण बहादुर थापा ,स्वार्णकार कल्याण समितिका अध्यक्ष भुवन लोहनी, समाजका उपाध्यक्ष भीम विश्वकर्मा, महासचिव दीपक घिमिरे लगायतले बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्