प्रधानमन्त्रीकाे निर्देशनपछि सांसद चाैधरीलाई लगाइएकाे नेल हटाइयाे

resham-chaudhai-upachar
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ ।

अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत चौधरीलाई अस्पतालको शय्यामा समेत नेल लगाएर राखिएकामा चौतर्फी विरोध भएपछि  नेल हटाइएको जानकारी अस्पताल स्रोतले दिएको छ ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएका चौधरीलाई खुट्टामा १४ किलोग्रामको नेल र हातमा हत्कडी लगाएर राखिएको थियो । हतियारधारी प्रहरीले चौधरी भाग्न नसकून् भनेर सुरक्षासमेत दिइरहेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न आदेश दिने जेल प्रशासनका अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार फोन गरी बिरामी चौधरीलाई नेल लगाएर राखिएकामा तीव्र असन्तुष्टि व्यक्त गर्दै त्यसका लागि जिम्मेवार अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । डिल्लीबजार कारागारबाट अस्पताल लगिएका चौधरीलाई कारागार प्रमूखको आदेशमा नेल लगाइएको जानकारी स्रोतले दिएको छ ।

प्रधानमन्त्रीकाे निर्देशनपछि सांसद चाैधरीलाई लगाइएकाे नेल हटाइएकाे हाे । प्रधानमन्त्रीले मुख्यसचिव रेग्मीलाई त्यस्ताे निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्