मनहरीको दुई वडामा झाडाबान्ताको प्रकोप

pakhala
लाेकपाटी न्यूज

हेटौंडा, ७ असार । मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ। गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो।

वडा नम्बर ९ मा एक साताअघि केही व्यक्तिलाई सामान्य पखालाको समस्या देखिएको र त्यसको केही समयपछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको सङ्ख्या वृद्धि भएपछि प्रकोपको रुप लिएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका बरिष्ठ स्वास्थ्य सहायक शिवराम बानियाँले बताए।

हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उनले जानकारी दिए। तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र तिनीहरुलाई सूईबाट औषधि दिनुपरेको बानियाँले बताए।

प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटौंडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ।बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उनले बताए।

सुख्खायामको समय भएकाले पानीको मुहान सुक्ने र जीवजन्तुहरु पानीको खोजीमा जाँदा जीवजन्तुबाट किटाणु सरी झाडाबान्ता फैलिएको हुनसक्ने बानियाँको भनाइ छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विभिन्न किसिमका औषधि निःशुल्क रुपमा वितरण गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्