काठमाडौं, ६ असार । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सरकारले गुठीसम्बन्धि विधेयक, मिडिया काउन्सिल लगायतका विभिन्न विधेयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि गुनासो पोखे । उनले भने, ‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए । उहाँहरुको घोषणापत्र नै महत्वकांक्षी थियो ।’ वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ ।
सरकार बनेको १६ महिना बितिसक्दा पनि अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको पनि पौडेलको आरोप छ । उनले भने, ‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होइन ।’ यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाई छ ।
‘बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशील छैनन्’–उनले थपे । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ । उनले भने, ‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो ।’ वर्तमान सरकार सफल हो भनेर भन्न सक्ने र गर्न सक्ने कुनै तर्कको आधार नै नभएको उनले जिकिर गरे ।
ओली सरकार पूर्ण रुपमा असफल भएको उनको दाबी छ । ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ’, उनले भने। नेकपाभित्र पनि सांसदहरुले विद्रोह गर्ने अवस्था सिर्जना भएको उनले टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिमित स्वार्थ समूहको घेराभित्र रहेको उनको भनाई छ । सरकारले सुनकाण्ड, फोरजी काण्ड, बालुवाटार जग्गा प्रकरण, टुँडीखेल काण्डमा किन ढाकछोप गर्न खोजेको ? भन्दै उनले प्रश्न गरे ।
ओली सरकार समयमै नसच्चिने हो भने मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरा पनि पौडेलले औंल्याए । राष्ट्रपति र उपराष्ट्रपतिहरुले सुविधा विस्तार गर्नमा मात्रै ध्यान केन्द्रित गरेको पनि उनको आरोप छ । उनले भने, ‘पहिले पहिले राजा र अहिलेको राष्ट्रपतिको सवारी उस्तै छ ।’
आफ्नो पार्टी सडकमा नजाँदा जनता आफैं सडकमा आउने पनि उनले बताए । उनले भने, ‘त्यसैले हामी सडकमा जानुको विकल्प छैन । गुठी विधेयकको विरुद्धमा भएको सडक संघर्ष त सामान्य हो ।’



लाेकपाटी न्यूज

