राष्ट्रपति र प्रधानमन्त्रीबारे लेखिएको स्ट्याटस देखाउँदै मन्त्रीले सांसदलाई प्रश्न सोधेपछि…

sancharmantri
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा शुक्रबार मोबाइल निकाले र सांसदहरूलाई एउटा स्क्रिन सट देखाए।

जसमा राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना दिवंगत पति मदन भण्डारीको फोटोमा श्रद्धाञ्जली व्यक्त गरिरहेकी छिन्।
फेसबुकमा पोस्ट भएको उक्त फोटोमा प्रधानमन्त्री केपी शर्मा ओलीबारे समेत लेखिएको थियो। उक्त पोस्ट उनले सांसदहरूलाई पढेर सुनाए।

‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं।  त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु।हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला।’ विकास समितिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक माथि छलफल गर्न पुगेका मन्त्री बाँस्कोटाले प्रश्न गरे( हाम्रो सभ्यता र स्वतन्त्रता यही हो?

बाँस्कोटाले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था यस्ता विषयमा आकर्षित हुने बताए। प्रतिनिधि सभामा हाल विचाराधिन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधानहरू राखेको छ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान छ।

सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरूले यो प्रावधानसहित कानून बनाउनु पर्ने पक्षमा छन्। प्रमूख प्रतिपक्षी नेपाली कांग्रेस सांसदहरू भने यो व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने शंका व्यक्त गरिरहेका छन्। समिति बैठकमा कांग्रेसकी सांसद रंगमती शाहीले ‘छोराछोरीले मोबाइल चलाउँदा कहीँ थिचिदिएकै भरमा बाबु आमा जेल पर्ने अवस्था कानूनले’ सिर्जना गरेको बताइन्।

‘यो विषयलाई प्रष्ट भएर जानुपर्छ। कति पटक सहुलियत दिने भन्ने छुट्याउनुपर्छ,’ शाहीले बैठकमा भनिन।कांग्रेसकै सांसद रामबहादुर बिष्टले मिडियामा विधेयकलाई लिएर असन्तुष्टि उत्पन्न भएको भन्दै छलफलको माग गरे।
उनले ५ वर्ष जेल र १५ लाखको जरिमानाको प्रावधानले त्रासको वातावरण बनाएको बताए। कांग्रेसकै अर्की सांसद मिनाक्षी झाले विधेयकमा सजायलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

नेकपाका सांसदहरूले भने विधेयकमाथि थप छलफल आवश्यक नभएको भन्दै अगाडि बढाउन माग गरे। नेकपा सांसद केदार सिग्देलले विधेयकले मौलिक हकलाई कुण्ठित नगर्ने भन्दै थप छलफल आवश्यक नभएको तर्क गरे।नेकपाकै टेकबहादुर बस्नेत, इन्दुकुमारी शर्मा र लीलानाथ श्रेष्ठले विधेयक समितिबाट पारित गरेर प्रतिनिधि सभा लैजान सुझाए।

सांसद इन्दुकुमारी शर्माले स्वतन्त्रताको विषयमा ‘मिडियाले बुझेर पनि बुझपचाएको’ आरोप लगाइन्। सञ्चार मन्त्री बाँस्कोटाले भने सूचना प्रविधि विधेयक मिडियासँग सम्बन्धित नरहेको बताए। उनले विधेयकले समाजलाई अनुशासित बनाउने बताए।‘अनुशासित समाजको अर्थ स्वतन्त्रतारहित समाजको कल्पना होइन,’ बाँस्कोटाले भने, ‘समाजलाई स्वतन्त्र अनि मर्यादित बनाउने कोणबाट विधेयक आएको छ।’

उनले अभिव्यक्ति स्वतन्त्रताको सीमा हुने तर्क गर्दै सूचना प्रविधिको दुरूपयोगमा सचेत हुनुपर्ने तर्क गरे। बाँस्कोटाले ‘गालीगलौज र आलोचना पृथक देख्न नसक्ने छुट हुन नसक्ने’ तर्क गरे। ‘स्वतन्त्रतता छ। व्यक्तिगत आलोचन गर्न पनि पाइन्छ तर जथाभावी भन्न बोल्न नमिल्ने कुरा गर्न छुट हुन्न,’ बाँस्कोटाले भने, ‘कसैलाई कोही मन र्पयो भनेर सामाजिक सञ्जालमा जथाभावी गर्न पाइन्न। जात्रामा सिन्दुर हालेर भाग्नेजस्तो गरेर हुन्न।’

उनले पूर्वीय दर्शनको मूल्य पद्धतिमा आधारित भएर कानुन बनेको बताए। बाँस्कोटाले कतिपय विषयमा सरकार वादी हुने ठाउँमा व्यक्ति वादी बनाउन सकिने बताए। ‘व्यक्तिसँग जोडिएको विषयमा व्यक्तिले उजुरी गर्ने गरि जान सकिन्छ,’ बाँस्कोटाले भने, ‘तर कतिपय अवस्था विचार गर्नुपर्छ। धम्क्याउने विषय एकपटक पनि प्रिय हुन्न, अपहरणको धम्की दिए के गर्ने?’

उनले कतिपय विषय विनियमावलीमार्फत प्रष्ट पारिने भन्दै विधेयक अगाडि बढाउन आग्रह गरे। कांग्रेस सांसद जिपछिरिङ लामाले विधेयकले प्रस्ताव गरेको सूचना प्रविधि अदालत गठन गर्दा समावेशी हुनु पर्ने कुरा उठाए। तर उनले सरकारले अदालत गठन गर्न लागेको विषयमा कुनै जिकिर गरेनन्। कांग्रेस सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा सरकार गठन गर्ने अदालतबाट सजायको प्रावधान गर्न खोजिएकोमा विरोध जनाएका थिए।

मन्त्री बाँस्कोटाले कानुन हेर्ने मान्छे नै अदालतमा हुने र उसलाई सहयोग गर्न मात्र सूचना प्रविधि विज्ञ र वाणिज्य विज्ञ अदालतमा राख्न लागिएको बताए। मन्त्री बाँस्कोटाले विधेयकमा राखिएको फरक मत उपादेयता नदेखिएको बताए।
समितिले आगामी बैठकबाट विधेयक पारित गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्