चितवन, ६ असार । चितवनको भरतपुर महानगरपालिकाले शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ।
एक समारोहकाबीच महानगरपालिका प्रमूख रेनु दाहालले रोजगार कार्यक्रमको उद्घाटन गरेकी हुन्। रोजगारी आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै महानगर प्रमूख दाहालले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन्। पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन भरतपुर महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ।
महानगरपालिका प्रमूख दाहालले सरकारी, नीजी र सहकारीसँग सहकार्य गरी बेरोजगार श्रम शक्तिको ज्ञान, सीप र क्षमताको आधारमा नयाँ – नयाँ श्रम क्षेत्रको खोजी गर्दै अगाडि बढ्ने बताइन्। भरतपुर महानगरपालिकाले महानगरपालिकाका २९ वटै वडामा कार्यक्रम गर्ने र वडामा परेका बेरोजगार निवेदन, वडाको अबस्था, बेरोजगारको चाहना बमोजिम पहिलो चरणमा तीन सय ८४ जनालाई रोजगारी दिने र यसको सुरूवात वडा नं. २१ र २२ वडामा शुक्रबारबाट सुरु भएको बताइन्।
उनले ४ हजारको हाराहारीमा बेरोजगार निवेदन महानगरपालिकामा परेको बताउँदै आगामी दिनहरूमा यसको व्यवस्थापन गर्दै लैजाने बताइन्। प्रमूख दाहालले योग्य श्रमशक्ति विदेश पलायन हुने देशकै ठूलो समस्याको रूपमा रहेको बताउँदै यसलाई रोकी देशमै रोजगारी सिर्जना गरेर अगाडि बढ्न प्रधानमन्त्री रोजगार कार्यक्रम सहयोगी हुने विश्वास लिएको बताइन्।
दाहालले श्रम ठूलो(सानो नहुने भन्दै गर्वका साथ कार्यक्रममा सहभागी हुन आग्रह गर्दै परिवर्तन आफैंबाट सुरू गर्न सहभागी सबैलाई आग्रह गरिन्। उनले रोजगार कार्यक्रम उत्पादन र विकासको पक्षमा केन्द्रीत हुनुपर्ने बताइन्।महानगर प्रमूख दाहालले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासका कामलाई तीब्र गतिमा अगाडि बढाइरहेको बताउँदै आगामी नगर परिषदबाट कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सहकारी र सुशासनबाट उत्पादनलाई जोड दिने नीति तथा कार्यक्रम तय गरी दिगो र आत्मनिर्भर विकासको लक्ष्यसहित यसलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताइन्।
प्रमूख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिचमा केही अवरोध सृजना भएर काम रोकिएको बताउँदै सबै अवरोधहरूको समाधान भैसकेको भन्दै कुनै पनि मूल्यमा रंगशाला बनाइछाड्ने बताइन्। कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमूख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभ लिन सबैलाई आग्रह गरिन्।
कार्यक्रममा भरतपुर महानगरपालिकाका सामाजिक महाशाखा प्रमूख प्रद्युम्न उपाध्यायले रोजगारी मानवीय जीवनको अभिन्न पाटो भएको बताउँदै सबै नागरिकलाई रोजगार बनाउने सरकारको कार्यक्रम सम्पन्न गर्नु सबैको सामूहिक दायित्व रहेको बताइन्।भरतपुर महानगरपालिकाका रोजगार अधिकृत विनोद खरालले कार्यक्रमको बारेमा जानकारी दिँदै रोजगारी पाउनेहरुले पारिश्रमिकमा आधारित रहेर २० दिनसम्म दैनिक ८ सय रूपैयाँका दरले पारिश्रमिक पाउने बताए।
वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का रामहरी सेढाइ, नेपाली काँग्रेसका कुमारप्रसाद थपलिया लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए। यसैगरी वडा नं. २१ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर २१ मा २२ जनाले २० दिनका लागि रोजगार प्राप्त गरेका छन्।




लाेकपाटी न्यूज

