‘ साथीहरु कुरिरहेको अवस्थामा कुमार पौडेलको गोली हानी हत्या गरियो ’ : नेकपा विप्लव समूह

Kumar paudel biplab cader
लाेकपाटी न्यूज

काठमाण्डौं, ६ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीका सर्लाही इञ्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल दोहोरो भिडन्तमा नमारिएको बताएको छ।

पार्टीका जनकपुर इञ्चार्ज अरुणले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका नेता पौडेललाई प्रहरीले ‘कायरतापूर्वक हत्या’ गरेको आरोप लगाएको छ। लालबन्दी नगरपालिका १ लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारवाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिएका थिए।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिए। तर विप्लव नेतृत्वको नेकपाका जनकपुर इञ्चार्ज अरुणद्वारा विज्ञप्तिमा प्रहरीसँग कुनै भिडन्त नभएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ।’

                                                        ncp_biplab_pr