रसुवागढीको सुरूङमा थुनिएका सबै कामदारको सकुशल उद्धार

Rasuwagadhi-Hydropower
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । निर्माणधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ।

११ जना नेपाली र ६ जना चीनियाँ कामदारलाई सुरुङबाट शुक्रबार बिहान सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए। बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए।

सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए। सबै जना खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था नभएको डिएसपी ढकालले बताए । अडिट-४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। त्यसैले अहिले आयोजनाको काम रोकिएको छ। केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन्। तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्