चितवन, ५ असार । चितवनमा सरकारी अनुगमन टोलीले अनुमती नलिइ कक्षा सञ्चालन गरेका चारवटा शैक्षिक संस्थालाई पाँच दिनभित्र कागज नल्याए बन्द गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुरका विभिन्न स्थानमा तयारी कक्षा सञ्चालन गर्दै आएका तर, प्रदेश सरकारको अनुमती नलिएका त्यस्ता शैक्षिक संस्थालाई आवश्यक कागज नल्याए बन्द गर्ने चेतावनी दिएको हो। स्थानीय तहका लागि लोकसेवा आयोगले माग गरेको विभिन्न तहको कर्मचारीका लागि तयारी कक्षाहरु सञ्चालन गर्ने र ब्रिजकोर्स पढाउदै आएका त्यस्ता सस्थामा बिहीबार अनुगमन गरेको थियो।
भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा सञ्चालन हुदै आएको लोकसेवा तयारी केन्द्र प्रा.लिले प्रदेश सरकारबाट अनुमती नलिइ सञ्चालन गरेको पाइएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमूख भूमिलाल सुवेदीले बताए। केन्द्रले वषौंदेखि लोकसेवा तयारी कक्षाहरु चलाउदै आएको छ। प्रदेश सरकारबाट अनुमती लिनु पर्नेमा नलिएकाले पाँच दिन भित्र आवश्यक कागज ल्याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमेशचन्द्र पन्थीले जानकारी दिए।
अनुगमनका क्रममा क्षमता भन्दा धेरै विद्यार्थी कोचेर राखिएको, गर्मीको ख्याल नगरेको सकसमा विद्यार्थीलाई अध्यापन गराइएको पाइएको टोलीले जानकारी दिएको छ। विद्यार्थीसँग लिने शुल्कको विषयमा जानकारी दिन नसकेको पाइएको छ। स्थानीय तहको लागि लोकसेवा आयोगले मागेको जनशक्तिलाई केन्द्रीत गरी पढाउदै आएको केन्द्रले सरकारको मामदण्ड पूरा गरेको छैन। मापदण्ड पूरा नभएका तोकिएको समयमा कागज नल्याएका संस्थालाई बन्द गर्न बाध्य हुने प्रतिनिधि पन्थीले बताए।
त्यस्तै गरी चितवन मेडिकल कलेज अगाडि रहेको एभरेष्ट टच इन्ष्टिच्युटले पनि प्रदेश सरकारको अनुमती नलिइ ब्रिजकोर्स सञ्चालन गर्दै आएको पाइएको छ। चितवनको पुरानो तयारी कक्षा भएपनि अनुमती नलिइ सञ्चालन गरेकाले आवश्यक कागज ल्याउन प्रशसनले निर्देशन दिएको छ। लोकसेवा तयारी केन्द्र र एभरेष्ट टच इन्ष्टिच्युटले प्रदेशबाट अनुमती लिएका छैनन्। यस अघि शिक्षा मन्त्रालयबाट अनुमती लिने व्यवस्था रहेको थियो। तर, प्रदेश सरकार भइसकेपछि प्रदेशबाट लिनु पर्ने व्यवस्था रहेको छ।
यस्तै , शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय अगाडि रहेको भावना स्टेशनरीले हाकिमचोक नजिकै कृषि विकास बैंक पछाडि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ। स्टेशनरी पसल सञ्चालन गर्न अनुमती लिएको संस्थाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको पाइएको हो।
दर्ता नै नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने शिक्षा विकास तथा समन्वय ईकाइका प्रमूख भूमिलाल सुवेदीले बताए। स्टेशनरी पसलले शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारी निकायबाट अनुमती लिएको छैन। दर्ता गरेर मात्र कक्षा सञ्चालन गर्न टोलीले निर्देशन दिएको छ। शिक्षा इकाइका प्रमूख, घरेलु कार्यालय, प्रहरी, उपभोक्ता अधिकार मञ्च, सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको गरेको थियो।
त्यस्तैगरि, मन्टेश्वरी तालिम दिने भनी भरतपुर महानगरपालिकाबाट अनुमती लिएको आइटिबी ९मन्टेश्वरी ट्रेनिङ एण्ड टिचिङ०ले लोकसेवाको तयारी कक्षाहरु सञ्चालन गरेको छ।भरतपुर महानगरपालिका वडा नं.१० सिनर्जी रोडमा रहेको यस संस्थाले विभिन्न शैक्षिक तयारी कक्षाहरु सञ्चालन गरेको सञ्चालक कृष्णप्रसाद आचार्यले बताए।
आफूलाई जानकारी नभएकाले कक्षा चलाएको उनको भनाइ छ।सामान्य व्यवसाय सञ्चालन गर्न अनुमती लिएको संस्थाले शैक्षिक कार्यक्रम चलाउन नपाइने टोलीले जनाएको छ। प्रदेश सरकारबाट अनुमती नलिइ सञ्चालन गर्न नपाइने भन्दै अबको पाँच दिनभित्र आवश्यक कागज नल्याए बन्द गर्ने चेतावनी दिएको छ।



लाेकपाटी न्यूज

