काठमाडौं, ५ असार । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ।
करिव ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो। मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ। ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्याएर काम अघि बढाउँछौं।’
सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइ वटा प्याकेजमा विभाजन गरिएको छ। त्यसभित्र स-साना गरी १० वटा प्याकेजमा बाँडिएको छ। पहिलो प्याकेजभित्र हेड वर्क्स अन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माण कार्य छन्।
विभिन्न प्याकेजमा काम गर्दा करिब ११ महिनाभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए। सुरुङलगायतका काम सम्पन्न गर्न करिव २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ। आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले समाचार लेखेका छन्।



लाेकपाटी न्यूज

