चितवन, ४ असार । नागरिक समूह चितवनले युवाहरुलाई लक्षित गर्दै ‘युवा र उद्दमशिलता, स्वाभिमान र समृद्धि हाम्रो आवश्यकता’ विषयक समारोह तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।
युवाहरुको विकास र प्रवद्र्धनका लागि उक्त कार्यक्रम गर्न लागिएको बुधवार नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
कार्यक्रमको माध्यमबाट देशको वर्तमान अवस्थामा युवाहरुप्रति बढेको निराशा, बेरोजगारी समस्या, बैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्न उत्प्रेरणा दिइने नागरिक समुह चितवनका संयोजक प्रविन अर्यालले जानकारी दिए । कार्यक्रममा राष्ट्रियता, आत्मनिर्भरता र स्वतन्त्रताको बारेमा युवाहरुलाई सचेत गराइने अर्यालले बताए । यस्तै युवा र उद्दमशिलताको बारेमा छलफल गरिने उनले बताए ।
युवाहरुलाई देशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने चेतना फैलाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको नागरिक समूहका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले बताए । देशमा कृषि जलस्रोत र पर्यटनमा भएको सम्भाव्यताको विषयमा छलफल गर्दै युवा उद्यमीहरुको बिचार लिने र अन्तरक्रिया गरिने उनले बताए ।
कार्यक्रमका नागरिक समूहका केन्द्रिय अध्यक्ष निगम हुमागाई, युवा उद्यमी तथा अभियन्ता मनिष झा, युवा उद्यमी डा. स्निधा मैनाली, सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङ र युवा उद्यमी बिशाल भट्टराई लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने कार्यक्रममा ३ सय भन्दा धेरै युवाहरुको सहभागीता रहने आयोजकको अनुमान रहेको छ ।



लाेकपाटी न्यूज
