काठमाडौं, ४ असार। वरिष्ठ पत्रकार किशोर नेपालले रवि लामिछानेको पत्रकारिता र वर्तमान सरकारको समृद्धि नारा उस्तै–उस्तै भएको बताएका छन्।
उनले एक टेलिभिजन अन्तर्वार्तामा रवि लामिछानेको टिभी कर्मलाई पत्रकारिता मान्न नसकिने बताएका हुन्। ‘त्यो त लतार्ने, चिथोर्ने, टोक्ने र गिजोल्ने काम हो। के टिभीमा चर्किदैमा भ्रष्टाचारको अन्त्य हुन्छ?’ उनले भने, ‘भ्रष्टाचार विरुद्धको चर्का कुरा गरेर हिरो हुन खोज्नुअघि आफ्नो विगत हेर्नुपर्यो।’
यस्तै उनले धुर्मुस–सुन्तलीले गरेको सामाजिक विकासलाई हाँस्यव्यंग्य चल्न छोडेपछिको फण्डा भने। सरकारमाथि किन यति ठूलो व्यंग्य भन्ने प्रश्नमा उनले भने, ‘भाडामा लिएको पानीजहाज कार्यालयको भाडा तिरेको छैन्। केरुङको रेल कता हो पत्तो छैन्। घरघरमा ग्यासपाईपको योजना कता पुग्यो? मेलम्चीको पानी खाउँला भनेर बसेका कतिको देहान्त भइसक्यो। तीन दशकदेखि एउटा आयोजना पूरा भएको छैन्। हो, पत्रकारले देखेको लेख्छ, भन्छ। मैले त्यही गरेको हो।’
सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै डोकोमा राखेर गरिने विश्लेषण चित्त नबुझ्ने उनी बताउँछन्। उनी भन्छन्, ‘पत्रकारिता उत्तरदायी हुन्छ। नियम कानून लाग्छ। तर सामाजिक सञ्जाल अनियन्त्रित हुन्छ।’ पत्रकारिताका नाममा हुने सस्ता सामग्रीको सम्प्रेषणबाट दिक्क भएको उनको भनाइ छ। उनले भने,‘नेपाली पत्रकारिता यतिबेला जाममा फसेको छ, न अघि न पछि।’



लाेकपाटी न्यूज

