भक्तपुर अस्पतालका कर्मचारी धर्नामा, सबै सेवा ठप्प

Doctor
लाेकपाटी न्यूज

भक्तपुर, ४ असार। भक्तपुर अस्पताल कर्मचारी आन्दोलनका कारण ओपिडि लगाएतका सम्पूर्ण सेवा ठप्प भएका छन्। अस्पतालको सबै सेवा ठप्प पार्दै कर्मचारी हातमा कालो पट्टी बाँधेर अस्पतालको प्राङ्गणमा धर्ना दिइ बसेका छन्।

भक्तपुर अस्पतालमा विभिन्न पेशागत मागहरु राखेर ३५ कर्मचारीले अस्पतालको ओपिडि लगाएतका सेवा बन्द गरेका हुन्। कर्मचारीले बहिरङ्ग सेवा अनिश्चिकालका लागि मंगलबारदेखि बन्द गराएका थिए। सेवा बन्द हुँदा अस्पतालमा दैनिक जाँचका लागि आउने चार सयदेखि पाँचसय बिरामी प्रभावित भएका छन्। कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने माग गरेका छन्।

आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेको भक्तपुर अस्पताल विकास कर्मचारी संगठन समितिका अध्यक्ष मदन देउलाले बताए। अस्पतालले हाम्रो मागहरुको कुनै सम्बोधन नगरेको बताउँदै अगामी दिनमा पनि हाम्रो मागको सम्बोधन नभएमा अझ आन्दोलनलाई निरन्तरता दिने देउलाको भनाइ छ।

अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. सुधा देवकोटाले कर्मचारीले पाइरहेका सेवा सुविधा नकाटेको यो सबै मन्त्रालयको निर्णय भएको बताइन्। उनले भने, ‘अस्पतालमा कार्यरत सबैले स्थायी कर्मचारीले पाउने सेवा सुविधा सबै पाइरहेका छन्।’ अस्पतालले दिने सुविधाहरु दिएको बताउँदै अस्पताल आफैले दिन नसक्ने थप सेवासुविधा मन्त्रालयको निर्देशनमा मात्रै दिन सकिने बताइन्।

अस्पतालमा ९२ जना कर्मचारीको दरबन्दीमा ८२ कर्मचारी कार्यरत छन्। जिल्लाकै इतिहास बोकेको अस्पतालले दिने सेवा सुविधा कमि आएकाले विभिन्न जिल्लाबाट आउने बिरामीहरु अहिले मर्कामा परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्