काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, विकास र सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गर्ने बताएका छन्।
नमूना मालपोत कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उत्पादन, विकास र सेवा प्रवाहमा प्रविधिको प्रयोगमार्फत् समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न लागिरहेको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज एउटा नमूना काम सम्पन्न भएको छ, हामीले नयाँ र अत्याधुनिक मालपोत कार्यालयको शुभारम्भ गरेका छौं । हामी मालपोत र नापी कार्यालयहरुलाई आधुनिक र प्रविधियुक्त बनाउँदैछौं । सरकार उत्पादन, विकास र सेवा प्रवाहका क्षेत्रमा प्रविधिको प्रयोग गर्न चाहन्छ, प्रविधिको प्रयोगमार्फत् समृद्ध नेपाली, सुखी नेपालीको लक्ष्य हासिल गर्न चाहन्छ ।’
उनले १३१ वटा कार्यालयमध्ये यही वर्षदेखि ६२ वटा कार्यालयलाई प्रविधिमैत्री बनाइएको बताए। ‘१३१ वटा कार्यालयमध्ये यसै वर्षदेखि ६२ वटा कार्यालयका कामहरुलाई डिजिटलाइजेशन गर्दैछौं । बाँकी कार्यालयहरुलाई पनि क्रमशः आधुनिक प्रणालीमा लैजान्छौं’ प्रधानमन्त्रीले भने, ‘विकास र सेवाका प्रयास र कार्यहरुमा प्रविधिको प्रयोग गर्ने सरकारको नीति छ । हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत देशका सम्पूर्ण क्षेत्रहरुमा प्रविधिको प्रयोग गर्न चाहन्छौं, नतिजामूखी विकास गर्न चाहन्छौं ।’
उनले पछौटेपन र परम्परागत सोचाइले समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए। उनले भने, ‘मैले यस मालपोत कार्यालयको निरीक्षण पनि गरें । कार्यालय अत्याधुनिक छ, पारदर्शी छ, नयाँपन पनि छ । देश र सेवाग्राहीको सोंचमा पनि व्यापक परिवर्तन आएको छ । अब परम्परागत सोचाइ, पछौटेपन र भद्दापन स्वीकार्य हुँदैन, यसमा परिवर्तन गर्नैपर्छ ।’
‘यो हामी सबैको साझा देश हो, देश बनाउनु हामी सबैको कर्तव्य हो, दायित्व हो, हामीले अलिकलि मेहेनत, अलिकति आधुनिक प्रविधिको प्रयोग गर्दा देशलाई नै अनुकरणीय बनाउन सक्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भूगोलमा सानो छौं । तर, हामीकहाँ हिमाल, पहाड, तालतलैया, भीरपाखा, नदीनाला छन् । यी सम्पदा हाम्रा लागि बरदान हुन् । यस्तो खनिज, हावापानी र सम्भावना विश्वमा कमै पाइन्छ । हामीले सङ्कल्प लिएर काम गरे विकासमा फड्को हान्न सक्छौं ।’



लाेकपाटी न्यूज

