विप्लव, राजावादी र कांग्रेस एक भए : प्रधानमन्त्री ओली

kp-oli
लाेकपाटी न्यूज

काठमाडौं, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र वर्तमान सरकार विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ र राजावादी शक्तिसँगै नेपाली कांग्रेस पनि एक भएको बताएका छन्। गुठी विधेयक र युरोप भ्रमणबारे आफ्नो धारणा संसदमा राख्न नपाएपछि मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो दावी गरेका हुन्।

पत्रकारहरुलाई प्रश्न सोध्ने अवसर नदिइएको ‘पत्रकार सम्मेलन’मा ओलीले यी तिनै शक्तिहरु अहिलेको सरकार र गणतन्त्र एवं संघीयताविरुद्ध एक ठाउँमा आइपुगेको बताए। उनीहरुको यस्तो एकताले लोकतन्त्र, गणतन्त्र, संघीयतालाई संकटमा पार्ने उनको दावी थियो।

जनताको शासन नरुचाउने तत्वहरु लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध एकजुट भएको प्रधानमन्त्रीको आरोप छ। उनीहरुको मोर्चाबन्दी स्पष्ट रुपमा देखा परेका उनको भनाइ छ। उनले भने, ‘अति दक्षिणपन्थी र अति उग्रवामपन्थी शक्तिहरु एकजुट भएका छन्।’

राजावादी र विप्लव समूह एकजुट भएको स्पष्ट रुपमा देखिएको दावी गरेका प्रधानमन्त्री ओलीले त्यो एकतामा कांग्रेसपनि जानी–नजानी मिसिएको भन्दै आश्चर्य प्रकट गरे। ‘जसका विरुद्ध एकता हुनुपर्ने हो, त्यो नभएको मात्र होइन’ कांग्रेसप्रति लक्ष्यित गर्दै ओलीले भने, ‘तर त्यहीँ गएर कांग्रेस पनि एकाकार भएको देख्दा आश्चर्य लाग्छ।’

झण्डै पौने घण्टा लामो सम्बोधनका क्रममा उनले दरवारले कसरी लोकतन्त्र हरण गरेको थियो, त्यो नेपाली कांग्रेसलाई स्मरण गराउने प्रयत्न गरे। ‘२००७ पछि परिवर्तनकारी शक्तिले अर्काे परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने काम भयो, प्रतिक्रियावादी शक्तिसँग मिल्दा लामो समयसम्म संविधान बन्न सकेन’ कांग्रेसप्रति लक्ष्यित गर्दै ओलीले भने, ‘त्यही कारण ०१७ को घटना भयो। त्यसपछि पनि मिलेर जाऊँ भन्दा मानिएन।’

मन्तव्यको सुरुवातमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार गरेको संसद अवरोधप्रति कटाक्ष गर्दै ओलीले भने, ‘संसदमा असंसदीय र अलोकतान्त्रिक व्यवहार भयो, त्यही संसद स्थगित हुने कारण बन्यो।’ आफूलाई बोल्न नदिने नियतका साथ कांग्रेसले संसद अवरोध गरेको ओलीको आरोप थियो।