‘ओलीभन्दा पहिले देउवालाई बोल्न नदिए आज पनि संसद अवरुद्ध हुन्छ’

sherbdr Deuba
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार। कांग्रेसले संसदमा आज पनि प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भन्दा पहिले सम्बोधन गर्न नपाए प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्ने चेतावानी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली भन्दा पहिले आफूले बोल्न पाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हिजो पनि सदन अवरुद्ध गरेको थियो। मंगलबार साँझ सभामुख कृष्णबहादुर महरासँग भेटेर कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आज ११ बस्ने प्रतिनिधि सभाको बैठकको सुरुवातमै बोल्नका लागि देउवालाई समय उपलब्ध गराउन आग्रह गरेका थिए।

तर, सभामुख महराले कांग्रेसलाई यस सम्बन्धमा कुनै जवाफ दिएका छैनन्। माग बमोजिम देउवाले पहिले बोल्न नपाए आजपनि संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी छ। ‘प्रधानमन्त्रीले अरुको कुरा सुन्ने हो, त्यसपछि जवाफ दिने हो’ प्रमुख सचेतक खाँणले भने, ‘यसो गर्नु नै सुल्टो हुन्छ, उल्टो गर्न खोजिए फेरि संसद अवरुद्ध हुन्छ।’

प्रम ओली भन्दा पहिले देउवाले बोल्न नपाएपछि हिजो कांग्रेसले संसद अवरुद्ध गरेको थियो, जसका कारण आज ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री ओली भन्दा पहिले बोलेर सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक लगायतका विषयमा बोल्ने देउवाको तयारी थियो। सर्वत्र विरोधपछि सरकारले त्यो विधेयक फिर्ता लिइसकेको छ। तर, देउवा भने त्यसै विषयमा बोल्न चाहन्छन्।

खाँणले प्रधानमन्त्रीले हिजोको पत्रकार सम्मेलनमा भूमिसुधार मन्त्रीले विधेयक फिर्ता लिएको जानकारी सञ्चारमाध्यमबाट आफूले पाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले निर्णय गर्ने हो, मन्त्रीले गरेको निर्णय प्रधानमन्त्रीले सञ्चारमाध्यमबाट थाहा पाउने स्थिति छ भने सरकार कसले चलाइरहेको छ भन्ने प्रश्न उठ्छ। हामी यो प्रश्न प्रधानमन्त्रीसँग गर्न चाहन्छौँ।’