काठमाडौं, ४ असार । ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ। गोदावरी नगरपालिका ३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो।
शिकारीको समूहले गत आइतवार कुन्ड भन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो। घटनालगत्तै खबर प्राप्त भएपनि शिकारी समूहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताए।
‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खवर गर्यो, लगत्तै हामी तालिम प्राप्त कुकुर सहित घटनास्थल पुग्यौ उनले भने–‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन।’ बयस्क बँदेलको घाटीमा दुईवटा गोली लागेको र शिकारीले पेट चिरिएको अवस्थामा नियन्त्रणमा लिइएको कुटवालले बताए। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।



लाेकपाटी न्यूज

