काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद सम्बोधन गर्न खोजेको बेला मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार भएको बताएका छन् ।
नेपाली कांग्रेसका कारण संसद बैठक अवरोध भएपछि पत्रकार सम्मेलन गरेको प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालहठ प्रदर्शन गरेकाे बताए। उनले भने, ‘अगाडिदेखि तय भएको हाे प्रधानमन्त्रीले बोल्ने भन्ने । तर, प्रधानमन्त्रीभन्दा अगाडि आफूले बोल्नु पाउनुपर्ने भनेर नेपाली कांग्रेसले अड्डी लियो । अड्डि मात्रै लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि रोस्टम घेरेर संसदको काम–कारबाहीमा अवरोध पनि गर्यो ।’
उनले कुनै विषयमा मतभेद नभए पनि कांग्रेसले मंगलबारको बैठक अवरोध पारेको बताए । ‘लोकतान्त्रिक अभ्यासअनुसार अरुले बोल्नुपर्दा पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलको नेताले र त्यसपछि बरियता क्रमानुसार अरुले बोल्ने चलन विश्वव्यापी चलन हो,’ प्रधानमन्त्री ओलीले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले पहिले मैले बोल्न पाउनुपर्छ भन्दै अवरोध गर्न उत्रेको उल्लेख गर्दै ओलीले देउवालाई संसदीय मर्यादा थाहा नभएकाे बताए।



लाेकपाटी न्यूज

