जीवनलाई गम्भिर होइन, सरल भएर सोचौं

life pic
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । कहिले काहीँ हामीलाई आफ्नै जीवन बोझ लाग्छ। कहिले काहीँ हामी आफ्नो जीवनप्रति बढी नै संवेदनशिल हुन्छौं। कहिले काहीँ हामी जीवनप्रति यसै भयाभित हुन्छौं।

बिहान आँखा खुलेदेखि जीवनकै बारेमा सोचमग्न हुन्छौं। जीवन कस्तो बनाउने ? कसरी बनाउने ? यस्तै यस्तै कुरामा घोत्लिरहेका हुन्छौं। जीवन आखिर यसैपनि बित्छ। तर, हामी आयु घट्दै गइरहेको जीवनसँग डराइरहेका हुन्छौं। जीवनमा केही गरिएन भन्ने बोधले पनि झस्काइरहन्छ। कतिपय इच्छा, आकंक्षा, रहरहरु पूरा गर्न नपाएको हुटहुटीले बेचैन बनाइरहेको हुन्छ।

यस्तो गर्नुपर्ने थियो, यस्तो गर्नु हुँदैनथ्यो भन्ने कुराले पनि मनलाई अस्थिर बनाउँछ। हामी जीवनप्रति अलि बढी नै संवेदनशिल, बढी नै गंम्भिर पो हुँदैछौ कि ? सोचौं। जीवनलाई धेरै गंम्भिरतापूर्वक लिनु उचित हुँदैन। जीवनप्रति अनावश्यक सचेत र सर्तक हुन पनि जरुरी छैन। एकबारको जुनी हो, सबै कुरा भोग गर्नुपर्छ भन्ने आकंक्षाले पनि जीवनलाई जटिल बनाउँदै लगेको छ।

हामी किन उदास हुन्छौं ? किन निरास हुन्छौं ? किन बेचैन हुन्छौं ? किनभने हामीले आफ्नै जीवनसँग पनि बढी अपेक्षा ग¥यो। यो भएन, त्यो पुगेन, यसो गरिएन भन्ने गुनासाहरु मनभरी गुम्साएर राख्यौं। यी कुराहरुले हामीलाई आफ्नै जीवन बोझिलो र झन्झटिलो लाग्न थाल्यो। जीवनलाई आवश्यक्ता भन्दा बढी गंभिर मान्यौं। त्यसैले हामीलाई जीवन जिउन सहज भएन।
जीवनलाई जति हल्का र सहज रुपमा लिइन्छ, हामीलाई जिउन पनि उत्तिनै सजिलो हुन्छ।

जीवनलाई सामान्य रुपले बुझौं । सरल ढंगले जिउने प्रयास गरौं। हामीलाई अनावश्यक डर, तनाव, बेचैनीले सताउनेछैन।
भोलिको कुराले आज हामी भयाभित हुन जरुरी छैन। भोलि आएकै छैन। भोलि के हुन्छ ? हामीले देखेकै छैनौ। कहिल्यै नआउने भोलिसँग किन भयाभित हुने ? हिजो गरेका गल्ती, कमजोरी सम्झेर बिलौना पनि नगरौं। हिजो जे भयो, सकियो। हिजो भएका कमी(कमजोरी आज सच्याउन सकिदैन। हिजोको कुरालाई मनमा नराखौं।

हिजोलाई सम्झेर दुःखी हुने, भोलिलाई सम्झेर भयाभित हुने। अनि वर्तमानको जीवन कहाँ छ? आज हामी हिजोको पीर पखाल्न र भोलिको भय हटाउनै खर्च गर्ने ? किन मनलाई अनावयश्क बोझ दिने ? किन मनमा अनावश्यक भय पाल्ने ? वर्तमानमा बाँचौं। बर्तमान नै भूत हो र भविष्य पनि। आजलाई राम्रो बनाएर बाँचौ। वर्तमानमा रमाउन सिकौं, वर्तमानमा बाँच्न सिकौं। जीवनलाई अनावश्यक झमेलाको भारी नबोकाऔं। जीवनलाई धेरै गंभिर भएर नसोचौं । धेरै आकंक्षा नराखौं । सरल बन्ने प्रयास गरौं। हामी जति धेरै सरल हुन्छौ, जीवन उत्ति सहज हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्